
नेपाल चिकत्सक संघले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ विपरित उद्योग तथा वाणिज्य मन्त्रालयले पठाएको पत्रबारे नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सुर्तीजन्य पदार्थको बाहिरी प्याकेटमा शतप्रतिशत चेतावानीमूलक सन्देश तथा चित्रहरू राख्नुपर्ने निर्देशिका कार्यान्वयन नगर्न उद्योग तथा वाणिज्य मन्त्रालयले पठाएको पत्रलाई लिएर चिकित्सक संघले आपत्ति जनाएका हो।
एनएमएले प्रेस विज्ञप्ति जारी गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा उक्त व्यवस्थालाई निस्तेज पार्न खोजिएको भन्दै मन्त्री भण्डारीले गरेको निर्णयअनुसार पठाइएको पत्रले गभ्भीर नैतिक तथा कानुनी आशंका सृजना गरेको बताइएको छ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगले मुटुरोग, दम, मुख तथा फोक्सोको क्यान्सर लगायत गम्भीर स्वास्थ्य समस्या उत्पन्न भई नेपालमा वर्षेनी हजारौंको संख्यामा मानिसहरुको ज्यान जाने गरेको तथ्य सार्वजनिक भइरहेको एनएमएले उल्लेख गरेको छ। भनिएको छ, ‘ मानिसको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पार्ने यस्ता वस्तुको उपभोग कम गर्न आम नागरिकहरूमाझ यस्ता पदार्थको उपभोगबाट आईपर्ने जोखिमको बारेमा जनचेतना फैलाउन अत्यन्त आवश्यक रहेको छ। त्यसैले क्यान्सरको उपचार मात्र नभई रोकथाम गर्नका लागि यस्ता पदार्थको प्याकेटमा शत् प्रतिशत चेतावानीमूलक सन्देश तथा चित्रहरू राख्नुपर्ने नियम लागु गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ।’
नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर दक्षिण एसियामै सबैभन्दा न्यून रहेकोले यस्ता हानिकारक पदार्थहरुमा कर वृद्धी गरी सोवापत असूल गरिएको रकम स्वास्थ्य क्षेत्रको विकासमा उपयोग गरी स्वस्थ समाज निर्माणमा सहयोग पुर्याउन नेपाल चिकित्सक संघ नेपाल सरकारसँग माग गरेको छ।