स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलन बिहीबार (भोली) देखि काठमाडौँमा सुरु हुँदैछ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मुख्य आयोजक रहने यस सम्मेलन आगामी ३० चैतसम्म चल्नेछ। सम्मेलनको उद्घाटन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गर्नेछिन्। यस वर्षको सम्मेलनको मुख्य नारा “स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समावेशी भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली” रहेको छ।

सम्मेलनमा नेपालसहित भारत, चीन, युके, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायत देशका १०० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरू तथा १००० भन्दा बढी राष्ट्रिय सहभागीहरूको भौतिक तथा भर्चुअल उपस्थिति हुने परिषद्का कार्यकारी सदस्य सचिव डा प्रमोद जोशीले  जानकारी दिए।

यसपटकको सम्मेलन जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता लगायतका समसामयिक विषयवस्तुमा केन्द्रित हुनेसमेत उनले बताए। साथै, स्वास्थ्य बीमा, दक्ष स्वास्थ्यकर्मीको पलायन, मानसिक रोग, सर्ने–नसर्ने रोग तथा अनुसन्धान नियमन लगायत विषयमा पनि विशेष छलफल गरिनेछ।

सम्मेलनलाई पारदर्शी बनाउन स्टेरिङ कमिटि, सेन्टेफिक कमिटि, अर्गनाइजिङ कमिटि तथा अवार्ड सेलेक्सन सब कमिटि गठन गरिएको भन्दै उनले सम्मेलनका लागि १४६ वटा मौखिक र १३० वटा पोष्टर प्रस्तुतिकरण प्राप्त भएको बताए। उनले त्यसमध्ये ८७ वटा मौखिक र ११५ वटा पोष्टर प्रस्तुतिकरणका लागि छनौट भएको जानकारी दिए।

परिषद्ले यसपटक पनि विभिन्न १४ विधाहरुमा उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान गर्ने भएको छ। हरेक वर्ष राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा प्रदान गरिने बिभिन्न विधामा यस वर्ष थपिएका तीन विधा सहित १४ विधाम पुरस्कार तथा सम्मान गरेने भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय