काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका विषयमा चिकित्सकहरुले विरोध जनाएका छन्।
केयूको उपकुलपतिका लागि न्यूनतम शैक्षिक योग्यता पिएचडी वा सो सरह भनिएपछि चिकित्सकहरुले विरोध जनाएका हुन्। चिकित्सा क्षेत्रका धेरै विधाहरुमा एमडी/एमएस/एमडिएसपछि थप अध्ययन नै नहुने भएकाले उपकुलपतिका लागि राखिएको उक्त्त योग्यताले धेरै चिकित्सकलाई उपकुलपति हुने बाटो राेकिएको भन्दै विरोध गरेका हुन्।
नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै मेडिकल र डेन्टल विषयका एमडी/एमएस/एमडिएसलाई नै हाललाई उच्च शैक्षिक योग्यताको रूपमा मान्यता दिनुपर्ने भन्दै केयूको उपकुलपतिका लागि जारी गरेको सूचना संशोधन गर्न माग गरेको छ।
‘नेपालको चिकित्सा क्षेत्रमा एमडी/एमएस/एमडिएसलाई उच्च तहको उपाधिको रूपमा मान्ने गरिएकोमा शैक्षिक संस्थाको रूपमा स्थापित काठमाडौं विश्वविद्यालय आफैंमा पिएचडी अध्ययन-अध्यापन न्यून संख्यामा हुने गरेको भएतापनि यस कार्यविधिमा विद्यावारिधीलाई नै न्युनतम शैक्षिक योग्यताको रूपमा उल्लेख गरी पूर्वाग्रही ढंगले दरखास्त आह्वान गरिनुले हाल एमडी/एमएस/एमडिएस तहको उच्च शिक्षा हासिल गर्ने वरिष्ठ प्राध्यापकहरु आफ्नो योग्यताको बावजूद अवसरबाट वंचित भई ठूलो अन्यायमा पर्ने नेपाल चिकित्सक संघको ठहर छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
चिकित्सा क्षेत्रमा अर्थोपेडिक्स, साइकियाट्रिक्स, अप्थाल्मोलोजी, डर्माटोलोजी, गाइनोअब्स, डेन्टल लगायतका विषयहरुमा एमडी/एमएस/एमडिएसपछि थप अध्ययनको डिएम/एमसिएच वा सो सरह अध्ययनको व्यवस्था नै नरहेकाले केयूले राखेको उक्त व्यवस्था सच्याउन धेरै चिकित्सकहरुले माग राखेका छन्। काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलले पनि उक्त विषयको विरोध गरेको छ।