dengue

काठमाडौँ- पाठेघरको मुखको क्यान्सरबाट बचाउन प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप अभियानका लागि थप ५ लाख भाइल खोप काठमाडौँ आइपुगेको छ। तेस्रो लटमा ४ लाख ९० हजार डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’(गाभी)को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको एचपीभी खोप आएको हो। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आइतबार थप ४ लाख ९० हजार भाइल खोप आइपुगेको जानकारी दिए। यसअघि पहिलो र दोस्रो लट गरेर १० लाख ७ हजार भाइल खोप आइपुगेको छ।

Jhada

‘एचपीभी खोप चार पटक गरी ल्याउने योजना थियो। अब एक लटको खोप आउन बाँकी छ,’ डा. गौतमले भने, ‘यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको छ।’ डा गौतमका अनुसार गण्डकी, लुम्बिनी, बागमती र कोशीमा खोप पठाइसकेको छ। अबको खोप सुदूरपश्चिम, कर्णाली र मधेशमा पठाउने तयारी छ।

सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ। ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको खोप दिन लागिएको हो। डा. गौतमका अनुसार करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन्।

गत वर्ष नै सरकारले एचपीभीविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो। जसमा सातै प्रदेशका अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार बालिकालाई खोप दिइएको थियो। अब आउने खोप अभियान भने विद्यालय केन्द्रित हुनेछ।

एचपीभी खोप अभियान १५ दिन (२३ माघ देखि ६ फागुन)सम्म चल्नेछ। १८ हजार ९०० विद्यालयलाई खोप केन्द्र तोकिएको छ । विद्यालयबाहेकका स्वास्थ्य संस्थामा ८ हजार केन्द्र तोकिएको छ।

डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक अभियानका लागि परिचालन गरिने बताए।

उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताए। सरकारले यसलाई नियमित खोप कार्यक्रम बनाउने योजना लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय