स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताएका छन्।
सोमबारबाट काठमाडौंमा सुरु भएको फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)को २४औं शिखर सम्मेलनमा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र र नयाँ पुस्ताको भविष्यका बारेमा सोचेर स्वास्थ्य अनुसन्धानमा लाग्न आग्रह गरे।
‘स्वास्थ्य क्षेत्रको भविष्यका लागि सोचेर अनुसन्धान कार्य गर्न प्रोत्साहित गर्न चाहन्छु’, मन्त्री पौडेलले भने । स्वास्थ्य क्षेत्रमा हुने अनुसन्धानले उत्तरदायित्वसहित धेरैको भलाई हुने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको भनाइ छ । नेपालमा भएका अनुसन्धानले अन्तर्राष्ट्रिय मान्यता पाइरहेको र यसमा फरक्यापले पनि मान्यता दिएकाप्रति कृतज्ञता व्यक्त गर्दै यसले थप अनुसन्धानका लागि आत्मविश्वास दिएको मन्त्री पौडेलको भनाइ छ।
स्वास्थ्य सचिव डा.रोशन पोखरेलले अनुसन्धानकर्ता र सरकारबीच समन्वय हुनुपर्ने धारणा व्यक्त गर्दृ समन्वयले अनुसन्धानको उपलब्धि र प्राप्त नतिजाले अझै राम्रो गर्न मद्दत गर्ने बताए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अनुसन्धान ज्ञान प्राप्त गर्ने कार्य मात्रै नभएर मानव जीवनलाई गर्ने आदर पनि भएको बताए। अनुसन्धान सकारात्मक परिवर्तनका लागि हुनुपर्ने उनको भनाइ छ। अनुसन्धान गर्दा कसैप्रति पूर्वाग्रही हुन नहुने र सीमान्तकृत समुदायलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने अधिकारीको सुझाव छ।
‘राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका हैसियतले मैले धेरै अनुसन्धानहरू निकै शक्तिशाली हुने देखेको छु’, अधिकारीले भने, ‘नैतिक भएर गरिएका अनुसन्धानले पक्कै समाज परिवर्तनमा टेवा पुग्नेछ।’
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रमोद जोशीले सम्मेलनले स्वास्थ्य अनुसन्धान क्षेत्रका आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे।