आज नोभेम्बर १४, विश्व मधुमेह दिवस।

मधुमेहको अवस्था, यसको जोखिम, बच्ने उपाय लगायत विभिन्न सचेतनामूलक कार्यक्रम गरी प्रत्येक वर्ष नोभेम्बर १४ का दिन विश्वभर यो दिवस मनाइने गरिन्छ। नोभेम्बर १४, इन्सुलिनको आविष्कारक सर फ्रेड्रिक बान्टिङको जन्मदिन हो। सोही अवसर पारेर यो दिवस मनाउन सुरु गरिएको हो।

शरीरमा चिनीको मात्रा आवश्यक भन्दा धेरै हुँदा मधुमेह रोग निम्तिन्छ। इन्सुलिनको मात्रा निस्क्रिय भएको या कम भएको अवस्थामा शरीरमा चिनीको मात्रा बढ्न जान्छ। मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिन्छ।

इन्सुलिन मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी मानिन्छ। सर बान्टिङ र चार्ल्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेहको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए।

मधुमेह लाग्नै नदिने, यदि लागि हाले औषधीको पहुँच पुर्‍याउन सचेतनामूलक कार्यक्रम गरिँदै आएको छ। मधुमेह रोगप्रति तपाईको जोखिम र यसबाट जोगिन बढाउनुपर्ने सक्रियता जान्नुपर्छ भन्ने नाराका साथ यो दिवस मनाइने गरिन्छ।

नसर्ने रोग बढ्नुका कारणमा मधुमेह र मुटुरोग हुन् दीर्घकालीन जटिलताहरु देखिएका छन्। मधुमेह नियन्त्रणमा आउन नसके यसले आँखा, मुटु, मिर्गौलामा असर पुर्‍याउछ।

विभिन्न प्रदेशमा गरिएको तथ्यांक अनुसार नेपालमा ६ देखि ८ प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको मधुमेह थाइराइड एवं हर्मोन रोग विशेषज्ञ डा.नरेश पराजुलीले जानकारी दिए।

डा.पराजुलीका अनुसार ३ जना मधुमेह भएका बिरामीमध्ये १ जनामा मुटुको समस्या देखिएको छ। दक्षिण एसियामा ११ मध्ये १ जनामा मधुमेहको समस्या रहेको पनि डा। पराजुलीले बताउनुभयो।मधुमेहको जोखिममा रहेका व्यक्तिले सबैभन्दा पहिले रोग छ, छैन पहिल्याउन जरुरी हुने उनको भनाइ छ।

चिकित्सकका अनुसार रगतमा ग्लुकोज (सुगर)को मात्र आवश्यकभन्दा बढी बढ्ने प्रक्रियालाई मधुमेह भनिन्छ।  हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन उत्पादन हुन्छ। उक्त हर्मोनले चिनीको मात्रा नियन्त्रण गर्ने काम गर्छ। उक्त हर्मोनको उत्पानमा कमी आई वा हर्मोनले काम नगरी चिनीको मात्रा रगतमा अनियन्त्रित तरिकाले बढ्न जान्छ।

ग्लुकोज लेबललाई नियन्त्रण गर्नु नै यसको उचार हो। इन्सुलिन कम बन्न र भएको इन्सुलिनले पनि राम्रोसँग काम नगर्नु नै अर्को इन्सुलिन छिटोछिटो खराब हुने भएकाले रगतमा ग्लुकोजको मात्रा बढ्ने गर्छ।

मधुमेह टाइप वान र टाइप टु गरी दुई प्रकारका हुन्छन्। ९० प्रतिशतलाई टाइप टु मधुमेह र १० प्रतिशत टाइप वान मधुमेह हुने विभिन्न अध्ययनले देखाएको छ।

चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ) डा. सौरभ खतिवडा अनुसार धेरै थकाइ लाग्ने, तौल घट्दै जाने, छिटो छिटो पिसाब लाग्ने, इन्फेक्सन हुने, आँखा धमिलो देख्ने मधुमेहका प्रमुख लक्षण हुन्।

मधुमेह खराब जीवनशैली काब्रोहाइडेडयुक्त खाना बढी खाने, मोटोपन, शारीरिक कसरत नगर्ने, वंशाणुगत कारणले गर्दा मधुमेह हुने डा. खतिवडाको भनाइ छ।

रगतमा चिनीको मात्र बढी भएका छोटो अवधिमा नै इन्फेक्सन हुने, निमोनिया हुने, पिनास हुने, शरीरमा एक किसिमको एसिड उत्पादन भएर प्राणघातक अवस्था पनि आउन सक्छ। नसामा झमझम हुने, मुटुको नली बन्द हुँदै जाने, कोलेस्ट्रोल जाम हुँदै जाने, मिर्गौलामा, आँखामा विभिन्न समस्या देखिने जस्ता दीर्घकालीन असर पर्दछन्।

चिकित्सकका अनुसार सामान्य रगतको जाँच गर्दा पनि मधुमेह भए/नभएको पत्ता लगाउन सकिन्छ। डा.मधुमेह भइसकेपछि विभिन्न औषधिको माध्यमबाट, जीवनशैली परिवर्तन गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।

३५ वर्षभन्दा बढी उमेरका व्यक्ति, परिवार सदस्य कसैलाई मधुमेह भएका, मोटोपना भएका, पाठेघरको समस्या, गर्भवस्थामा मधुमेह भएका आमाको सन्तानलाई मधुमेहको जोखिम बढी हुने डा‍‍ पराजुली बताउछन्। साथै लामो समयदेखि चिनी बढाउने औषधि लिइरहेका व्यक्ति, व्यायाम नगर्ने व्यक्ति पनि मधुमेहको बढी जोखिममा रहन्छन्।

तौल घट्नु या बढ्नु, पिसाब धेरै लागे, तिर्खा लागे र जोखिममा रहेका व्यक्तिले मधुमेहको जाँच गराउनुपर्छ। ३ महिनासम्म नियमित परीक्षण गर्न उनको सुझाव छ। खानपिन, जीवनशैलीलाई सन्तुलित बनाउन सके ५८ देखि ६० प्रतिशत व्यक्तिलाई मधुमेह हुनबाट जोगाउन सकिन्छ।

यो दिवस मनाइरहँदा निलो रङ र गोलो आकारको प्रयोग हुन्छ। निलो रङको अर्थ आकाश र गोलो आकारको अर्थ पृथ्वी हो। मधुमेहले आकाश र पृथ्वीसम्मलाई छोप्न सक्छ है भन्ने सन्देश यसले दिन्छ। मधुमेहसम्बन्धी सचेनतामुलक सन्देश आकाशदेखि पृथ्वीसम्म पुर्‍याउने भन्ने मुख्य सन्देश दिनका लागि निलो रङ र गोलो आकारको प्रयोग गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय