स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अस्पतालहरुलाई तिर्नुपर्ने स्वास्थ्य बीमा बापतको बक्यौता रकम तत्काल उपलब्ध गराउने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले विभिन्न अस्पतालहरुलाई स्वास्थ्य बीमाबापत करिब ९ अर्ब रुपैँया बक्यौता बाँकी रहेको जानकारी गराए। पौडेलले बक्यौता रकममध्ये धेरैजसो सरकारी अस्पतालहरुलाई तिर्न बाँकी र उक्त रकम तत्काल निकासा गर्ने बताए।
बैठकमा बोल्दै उनले भने, ‘बीमा समितिले दिएको जानकारी अनुसार करिब ९ अर्ब रुपैँया बराबरको बक्यौता बाँकी रहेको छ। यसमध्ये प्रायजसो सरकारी अस्पतालमा धेरै बक्यौता बाँकी छ। बीमामा प्रिमियमबाट जम्मा भएको र बीचमा सरकारले ७ अर्ब रुपैँया निकासा गरेर दिएको बाहेक अरु सबै पैसा बक्यौताको रुपमा रहेको छ। पैसा समयमा उपलब्ध नभएको कारणले बीमीत व्यक्तिको उपचारमा कठिनाइ भएका विषयमा मन्त्रालय जानकार छ, यस सम्बन्धी विषयमा सरकारले तत्काल निर्णय गर्नेछ।’ उनले भने।
मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताए। अहिलेकै नीति, नियमले बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बीमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको जानकारी दिए।
स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आमनागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्नका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाइ थियो। मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागिपरेको बताए।
अहिलेकै नीति नियमभित्र बीम त्यति व्यवस्थित हुने स्थिती छैन। त्यसैले बीमा ऐन परिवर्तन गर्ने थप व्यवस्थित गर्न जरुरी छ। उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय