गाेरखा – गोरखाको सतिपिपलको स्थानीयको घरबाट बरामद भएको टल्कने ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरेको थियो ।
अहिलेसम्म क्वार्ज क्रिष्टल जिल्ला प्रहरी कार्यालयमै राखिएको छ ।
गोरखा नगरपालिकाले सूचना निकालेर शुक्रबार क्वार्ज क्रिष्टल गोरखा दरबारमा प्रतिस्थापन गर्ने उल्लेख गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सहभागी हुने नगरपालिकाले जनाएको छ ।
यसअघि गत साउनमा खानी तथा भूगर्भ विभाग काठमाडौंबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर परीक्षणमा गर्दा पारदर्शी ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि गर्दै विभागमा ल्याउनुपर्ने बताएका थिए ।
तर गोरखा नगरपालिका र स्थानीय बासिन्दाले क्वार्ज क्रिष्टल गोरखामै राख्नुपर्ने अडान राखेपछि प्रधानमन्त्री दाहालले गोरखामै राख्न निर्देशन दिएका थिए ।
क्वार्ज क्रिष्टल गोरखा संग्रहालय वा गोरखा दरबार कहाँ राख्ने भन्नेमा विवाद थियो। जिल्ला प्रशासन र गोरखा नगरपालिकासहित सरोकारवालाहरूको बैठकले दरबारमा क्वार्ज क्रिष्टल प्रतिस्थापन गर्ने निणर्य गरेका थिए ।
क्वार्ज क्रिष्टल शाही परिवारले पुस्तौंदेखि देउताका रूपमा पुज्दै आएका थिए। बाजे-बराजुले कहाँबाट ल्याएका हुन् भन्ने शाही परिवारलाई यकिन थिएन । यो पारदर्शी ढुंगालाई कुलदेउताका रूपमा र विभिन्न तिथिहरूमा उनीहरूले पुज्ने गरेका थिए ।
प्रहरीले बरामद गरिसकेपछि पनि चन्द्रमानकी श्रीमती राममायाले पटक-पटक प्रहरी कार्यालयमै पुगेर पत्थरलाई पूजा गर्दै आएकी थिइन् ।