१९ माघ, काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध खराब ब्याटिङ गरेको छ ।
एक समय २३ ओभरमा ७१-२ को अवस्थामा रहेको नेपाल २८ ओभरमा ७७-७ को लज्जास्पद अवस्थामा पुगेको छ । नेपालका देव खनाल ८ र सुभाष भण्डारी क्रिजमा छन् ।
नेपालको सिनियर टोलीबाट खेलेका गुलशन झा मध्य गतिका बलर आर्शिन कुलकर्णीको २७ औं ओभरको दोस्रो बलमा १ रनमा बोल्ड आउट भए ।
अर्को ओभरमा दीपेश कँडेल शून्यमा बोल्ड आउट भए ।
आर्शिन कुलकर्णीको २५ औं ओभरको अन्तिम बलमा दीपक डुम्रे सेकेन्ड स्लिपमा शून्यमा क्याच आउट हुन पुगे ।
२४ औं ओभरमा नेपालले अर्जुन कुमाल र विशाल विक्रम केसीलाई गुमाएको थियो ।
नेपालका भरपर्दा ब्याटर अर्जुन कुमाल ६४ बलमा ३ चौकासहित २६ रन बनाउँदै आउट भएका थिए ।
स्पिनर सौम्य पाण्डेको लेन्थको बल मिस हुँदा अर्जुन २४ औं ओभरको पहिलो बलमा बोल्ड आउट हुन पुगेका थिए ।
यसै ओभरको अन्तिम बलमा विशाल विक्रम केसी १ रनमा आदर्शसिंहबाट क्याच आउट भएका थिए ।
नेपाललाई ओपनर अर्जुन कुमाल र दीपक बोहराले पहिलो विकेटका लागि १३.२ ओभरमा ४८ रनको संयमित सुरुवात दिलाएका थिए ।
तीव्र गतिका बलर राज लिम्बानीको सट बल पुल सट खेल्ने चक्करमा एज लागेर दीपक बोहरा कट एण्ड बोल्ड आउट हुन पुगेका थिए ।
दीपकले ४२ बल ३ चौका हानेका थिए । युवा विकेटकिपर उत्तम थापामगर स्पिर सौम्य पाण्डेको २२ औं ओभरको पाँचौ बलमा सट मिडविकेटमा आदर्श सिंहबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए ।
त्यसअघि माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।
भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ तथा उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए ।