सत्ता समीकरण फेरिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चैत्र २० गते विश्वासको मत लिने भएका छन् । शर्माले मंगलबार विश्वासको मत लिने भनेर प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको मुख्यमन्त्री शर्माका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिए ।
यसअघिको सत्ता साझेदार नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । गठबन्धन फेरिएपछि नेपाली कांग्रेसले माओवादीका मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।