काठमाडाैँ – नेकपा माओवादी केन्द्रले उपनिर्वाचनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।
बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ । उक्त बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि छलफल हुनेछ । साथै उक्त बैठकमा प्रदेश सरकारको हेरफेर र नेतृत्व बारेमा पनि छलफल हुनेछ ।
आगामी वैशाख १५ गते इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
उक्त निर्वाचनका लागि माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारका लागि धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइली गरी ४ जनाको नाम सिफारिस गरेको छ ।
नेताहरुका अनुसार प्रदेश सरकार हेरफेरबारे सत्ता गठबन्धनमा करिब सहमति जुटेको छ । त्यसका सम्बन्धमा समेत पदाधिकारी बैठकमा छलफल हुनेछ ।
गत फागुन २१ गते माओवादी केन्द्रले नेकपा एमालेसहितका दलहरुसँग नयाँ सत्ता समीकरण गरेको थियो। नयाँ समीकरणअनुसार प्रदेश सरकार हेरफेरको कसरतमा गठबन्धनमा रहेका दलहरु छन् ।