सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको गृह मन्त्रालयले जनाएको छ। यसअघि फागुन २८ मा मिटरब्याज पीडितसँग सरकारले चार बुँदे सहमति गरेको थियो।
सरकारले गत चैत २० गते मिटरब्याज पीडितहरूको समस्याबारे अनुसन्धान तथा अध्ययन गर्न मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ बनाएको थियो। उक्त आयोगले ५ हजार फर्छ्यौट भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर बाँकी रहेका पीडितहरुको समस्या समाधान नभएको भन्दै पीडितहरु निरन्तर आन्दोलनरत थिए। सरकारले हाल गठन गरेको आयोगले तीन महिनाको समयावधि पाएको छ।