काठमाडौँ( पाल्पा तानसेन वडा न ७ की ४७ वर्षीय पार्वती गन्धर्व गृहिणी हुन् । उनका श्रीमान् वैदेशिक रोजगारको लागि कतारमा छन् । उनीहरूका दुई छोरीहरू पाल्पामै पढ्दै छन् । पार्वतीलाई कुनै समय छोरीहरूको स्कुलको फी तिर्न देखि घर चलाउन पनि श्रीमानकै तलब कुर्नु पर्थ्यो । पैसा आउन कहिले छिटो हुन्थ्यो त कहिले ढिलो । त्यसैमाथि एक जनाको कमाइले घर धान्नै मुस्किल थियो ।
सोही समय घरमा बस्दा केही काम गर्नै पर्छ भन्ने सोचेर पार्वतीले बुङ्गुर पाल्ने निधो गरिन् । करिब तिन वर्ष अघि पार्वतीले दुई वटा बुङ्गुरबाट सुरु गरेको व्यवसायले उनको घर खर्चमा सहयोग गरिरहेको थियो । त्यति बेलै गाउँमा कृषकहरूलाई आधारशिला तालिम र अन्य सहयोगहरू लिएर हेफर नामको संस्था पुग्यो ।

तिन वर्षअघि हेफरले उनलाई बङ्गुरको खोर बनाउन ४० हजार सहयोग गर्‍यो । त्यो पैसाले उनले खोर व्यवस्थित बनाइन् र बङ्गुर समेत थपिन् । अहिले उनको फार्ममा आठ वटा बङ्गुर छन् । हरेक वर्ष उनी कम्तीमा पनि आठ वटा भन्दा बढी बङ्गुर बिक्री गर्ने बताउँछिन् । ‘बङ्गुर पालनबाट बर्सेनि ४ देखि ५ लाख रुपैयाँ आम्दानी हुन्छ । अहिले छोरीहरू पढाउन देखि घर खर्च चलाउन समेत धेरै सजिलो भएको छ । आफैँले घरमा बसेर सानोतिनो काम गर्न पाउँदा खुसी छु सक्रिय पनि छु र आम्दानी पनि भई रहेको छ ,’ उनले भनिन् ।
उता श्रीमानले कमाएको पैसाले जग्गा किनेर घर बनाएको उनको भनाई छ । आर्थिक रूपमा आत्मनिर्भर उनको यही व्यवसायलाई अझ ठुलो बनाएर आम्दानी बढाउने सोच छ ।
पाल्पाकै तानसेन वडा नं १० कि ४६ वर्षीय नारायणी विष्टको पनि उस्तै कथा छ । केही वर्ष अघि श्रीमान् बितेपछि परिवारको सबै जिम्मेवारी उनकै काँधमा आई पर्‍यो । केही समय उनले के गर्ने के नगर्ने सोच्नै सकिनन् । आफैँले घरमा खान लगाएको तरकारीलाई पो व्यवसाय बनाउने कि भन्ने सोच उनमा आयो ।
तर व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल भयो । उनले पनि त्यही समयमा हेफरले आयोजना गरेको सिपमूलक तालिम लिइन् । त्यसपछि हिम्मत गरेर व्यावसायिक रूपमा तरकारी खेती सँगै बाख्रा पालन सुरु गरिन् । उनको व्यावसायिक यात्रामा हेफर साथी बनिदियो ।
हेफरले उनलाई तरकारीको बीउ बिजन देखि बाख्रा पालनको लागि कर्जा समेत दियो । जस कारण उनले आफ्नो व्यवसाय व्यवस्थित रूपमा सुरु गरिन् । अहिले उनी यो व्यवसायले व्यक्तिगत रूपमा धेरै सहज भएको बताउँछिन् । ‘पहिले घर खर्च टार्न निकै मुस्किल हुन्थ्यो, धेरै दुख हुन्थ्यो,अहिले घर खर्च चलिरहेको छ, छोराहरूलाई पढाउन सहज भएको छ,’ उनले भनिन् ।
अहिले उनी वार्षिक रूपमा ३ लाख भन्दा बढी आम्दानी गर्छिन् । यो साल हिउँदे वर्षा नभएकाले तरकारी राम्रो नभएको तर बर्से खेतीमा भने वार्षिक डेढ लाख भन्दा बढी आम्दानी हुने उनको भनाई छ । त्यस्तै ४० देखि ५० हजारसम्मको आम्दानी आलु खेतीबाट मात्रै हुने उनले बताइन् ।
अहिले उनको खोरमा १५ वटा उन्नत जातका बाख्रा छन् । भर्खरै केही पाठाहरू बेचेर उनले केही रकम जम्मा गरेकी छन् । बाख्राका पालनबाट पनि सन्तोषजनक आम्दानी भइरहेको उनको भनाई छ । बाख्राको मलले तरकारी खेतीमा समेत सहयोग पुगिरहेको छ ।
महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन हेफरले गरेको सहयोग प्रति उनी निकै खुसी छिन् । हेफरको सहयोगले आफ्नो क्षेत्रका अन्य दिदी बहिनी समेत लाभान्वित भएको उनी बताउँछिन् । ‘हाम्रो क्षेत्रमा महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन हेफरको ठुलो साथ छ । हामीलाई चुलो चौको बाट बाहिर निकालेर देखि सिपमूलक तालिम दिइएको छ त्यो सबैभन्दा ठुलो कुरा हो,’ उनले भनिन् ।
०००
नेपालमा केही गर्न सकिँदैन भनेर पलायन भइरहेको मानसिकताको जमातमा पाल्पा तानसेन वडा न ९ का ३२ वर्षीय सुन्दर राना एउटा फरक उदाहरण हुन् । उनी विगत आठ वर्ष देखि पाल्पा मै व्यक्तिगत रूपमा बाख्रा पालन गरिरहेका छन् ।
हेफरले किसानहरूलाई गरिरहेको सहयोग पाउने मध्यमा उनी पनि एक हुन् । उनको व्यावसायिक यात्रामा हेफरले उन्नत जातको पाठा देखि बाख्राको खोर बनाउन र नस्ल सुधार गर्न समेत सहयोग गरेको उनी बताउँछन् । ‘हेफरको सहयोगको कारणले धेरै सजिलो भएको छ, बाख्राहरू बेच्नको लागि देखि नस्ल सुधार गर्न र घाँस हरूको लागि पनि सहयोग पाएको छु,’ उनले भने । आगामी दिनमा हेफरले बजार व्यवस्थापनमा अझै सहयोग गरिदिने उनको आशा छ ।
पशुपालनको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनल सन् १९९३ मा चितवनको गितानगरमा बरुवा बाख्रा पालन परियोजना गरी सुरु भएको थियो ।
हेफर इन्टरनेसनलले हाल नेपालका ५० जिल्लामा महिला सशक्तीकरणको लागि कृषि, पशुपालन तथा अन्य व्यवसायको आधारशिला तालिम सञ्चालन गर्दै आएको छ । समुदाय केन्द्रित यो कार्यक्रमले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग गरिरहेको हेफरका सूचना प्रबन्धक प्रवीण गुरुङ बताउँछन् ।
हेफरले सरकारसँगको समन्वयमा समेत काम गर्छ । हेफरका यस्ता कार्यक्रमबाट हालसम्म ४ लाख भन्दा बढी परिवार लाभान्वित भएका छन् । तीमध्ये ९९ प्रतिशत महिला रहेको गुरुङ बताउँछन् । हाल हेफरले बुटवल, भरतपुर, नेपालगन्ज र जनकपुरमा प्रादेशिक र काठमाडौँको प्रधान कार्यालयबाट आफ्नो सेवाहरू दिँदै आएको छ ।
साना किसानको दिगो विकासमा सघाइरहेको हेफरले आगामी दिनमा अझै महिला सहभागिता बढाएर उनीहरूलाई भान्सामा मात्रै सीमित नगराई आर्थिक र सामाजिक रूपले बलियो बनाउन सहयोग गर्ने गुरुङले बताए । साथै युवा जनशक्तिलाई समेत देशमा नै काम गर्न सक्ने वातावरण बनाउन सहयोग गर्ने उनको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय