यस वर्षको महाशिवरात्रि पर्व भव्य रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले तयारी तीव्र पारेको छ। कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ । नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ ।
कोषका सदस्यसचिव राजुकुमार खत्रीका अनुसार महाशिवरात्रि पर्व २०८० का अवसरमा प्रचारप्रसार, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमितिले भक्तजनका लागि निःशुल्क भोजनको जिम्मा लिइएको छ । यसैगरी महाशिवरात्रिको समयमा पशुपति क्षेत्रमा निःशुल्क भोजन गराउनेहरूले फोहर व्यवस्थापनसहितका सामग्री ल्याउनुपर्ने भनिएको छ । अहिले पशुपति क्षेत्रमा रङरोगन, सरसफाइ तथा स्वागतद्वार निर्माणकार्य सुरु गरिएको छ।
महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाका जनशक्ति परिचालन गरी व्यवस्थित गर्ने तयारी गरिएको कोषले जनाएको छ।
यस वर्ष पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको स्वागतका लागि पिङ्गलास्थान, गौशला, जयबागेश्वरी, उमाकुण्ड तथा तिलगङ्गा क्षेत्रमा स्वागतद्वार निर्माण गरिन थालिएको कोषले जनाएको छ ।