आगामी जेठ १० गतेबाट डोल्पा जिल्लामा अौपचारिक रुपमा यार्सागुम्बा टिप्न दिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले १० जेठदेखि औपचारिक रूपमा यार्सागुम्बा संकलन खुला गर्ने निर्णय गरेको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा संकलन गर्न खुला गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । साथै यार्सा संकलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ ।
प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा संकलन गर्न बीसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन् । डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन् ।
यार्सागुम्बा संकलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ । मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ । निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैध रूपमा मानिसहरू जाने गरेका छन् । डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारण सङ्कलन गर्न जाने बताइएको छ ।
डोल्पामा यार्साको व्यावसायिक रूपमा संकलन सुरु २०४० सालदेखि भएको हो । डोल्पामा नेपालमै सबैभन्दा धेरै र गुणस्तरको हिसाबमा राम्रो यार्सागुम्बा पाइने गर्दछ ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal