नेपाली समालोचना क्षेत्रमा कलम चलाउँदै आएका समालोचक जीवन जीवन्तले आफ्नो परिचयलाई उपन्यासकारका रुपमा विस्तार गरेका छन् । उपन्यास विधामा विद्यावारिधि गरी आख्यान समालोचनामा थुप्रै काम गरेका उनी उपन्यास लेखनमा भने नयाँ हुन्। सैद्धान्तिक आधार : प्रायोगिक विश्लेषण (समालोचना २०७५), अधिआख्यान : सिद्धान्त र विश्लेषण (समालोचना २०६९), उत्तरआधुनिक साहित्य : सिद्धान्त र विश्लेषण (सहलेखन, समालोचना २०६९), हाम्रो बुढानीलकण्ठ (सहलेखन), अनिवार्य नेपाली : स्नातक तह (सहलेखन) आदि पुस्तकहरू प्रकाशित छन् ।
वैशाख ८ गते पहिलो उनको उपन्यास चरैवेतिको लोकार्पण तथा परिसंवाद हुँदै छ । उनै उपन्यासकार जीवन जीवन्तसँग अभिलेखका लागि निशान निष्कर्षले गरेकाे पुस्तकवार्ताको सम्पादित अंश:
समालोचनामा जम्नुभएको यहाँको पहिलो उपन्यासमाथि परिसंवाद कार्यक्रम हुँदैछ। अरूको समालोचना गर्नु र आफै आख्यानकार हुनुमा कतिकाे फरक अनुभव गर्नुभयो ?
समालोचना गर्नु र आख्यान सिर्जना गर्नु दुवै सजिलो कुरा होइन । समालोचनामा तथ्य प्रमाण जुटाउनुपर्छ, भावनात्मक उडानको स्वतन्त्रता कम हुन्छ, आख्यान सिर्जनामा त्यसको हद केही सहज हुन्छ। तर यसमा पनि सत्यता, आवश्यकता र सम्भाव्यताको कसिले बाँधिहाल्छ, जथाभावी उडान भर्न पाइँदैन, खुल्ला आकाशमा पनि कहाँ जहाज जताततै उडाउन पाइन्छ र, एउटा रुट त हुन्छ नै । त्यसैले तुलामा जोखे जस्तो गरी कुन सहज भन्न सकिँदैन तर दुवै मेरा लागि रुचिका क्षेत्र भएकाले दुवै ‘कम्फर्ट जोन’मा पर्छन् ।
पछिल्लो समय नेपाली आख्यान ‘बजारकेन्द्री मात्र भए, अघिल्लो पुस्ताको जस्तो लेखन भएनन्’ भन्ने केही पाठकहरूको आरोप छ । यस्तो आरोपलाई चिर्न लेखकहरूले आफूलाई कसरी प्रस्तुत गर्नुपर्ला ? चरैवेतिले आम पाठकको आरोपलाई चिर्न सक्ला ?
गुणात्मकताको खोजीभन्दा हल्लाको बिगबिग भएको बेला यस्तो प्रतिक्रिया आउनु अस्वाभाविक म ठान्दिनँ । अहिले हामी पहिलेका राम्रा कृति भनेर जजसलाई भनिरहेका छौँ, ती लामो समयमा छानिएर आएका स्तरीय कृतिहरु हुन् । बागमतीको पानी पनि बगेर सर्लाही पुग्दा त सङ्लो भएको छ नि । अहिले धेरैलाई नाम र पहिचानको लोभ छ अनि लेखक भइटोपलेका छन्, अनि किताबको बाढी आएको जस्तो भएको छ, समयक्रममा ती छेउ लाग्छन् । केही स्तरीय कृतिहरु कालजयी हुन्छन् ।
अहिले पनि केही लेखक हल्ला नगरी गुपचुपमा राम्रा कृति सिर्जना गर्न तल्लीन छन् । तिनलाई समयले बिस्तारै चिन्दै जान्छ । त्यसैले चर्चा र हल्लाको पछि नलागी लेखनको परम्परा र सान्दर्भिकतालाई बोध गरेर लेख्ने हो भने त्यस्ता आरोप कम हुँदै जान सक्छ । जहाँसम्म मेरो एउटा कृतिले त्यस्ता समग्र आरोपको राप त कति थाम्न सक्ला र ? तैपनि पाठकलाई विषयगत नवीनता र समयसान्दर्भिकताका दृष्टिले पाठकलाई निरास पार्ने छैन भन्नु कुरामा म ढुक्क छु ।
आम पाठक विश्वेश्वरप्रसाद कोइराला, पारिजातलगायतका आख्यानसँग बढी परिचित छन्। ती आख्यान र आजको आख्यानलाई तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ ?
वास्तवमा आख्यानलाई केवल आख्यानकृति वा साहित्यका रुपमा लिनु हुँदैन, यो समयको दस्ताबेज हो । नेपाली आख्यानका धरोहरहरु विश्वेश्वरप्रसाद कोइराला र पारिजात बाँचेको युगसन्दर्भ र अहिलेको युगचेतना एउटै छैन । उहाँहरुको आख्यानले तत्कालीन युगबोधलाई टड्कारो रुपमा प्रस्तुत गरेका छन् । कोइरालाका आख्यान जीवनका आन्तरिक यथार्थको चित्रण र पारिजातका पछिल्ला आख्यानहरु बाह्य यथार्थको अङ्कनमा अब्बल दरिएका छन् ।
अहिलेका आख्यानहरु पनि वर्तमान सामाजिक–राजनीतिक सन्दर्भानुसार तिनको दस्ताबेजीकरणमा तल्लीन छन् । नेपाली समाजको दायरा फराकिलो भएको छ, त्यसैअनुसार उपन्यासको विषय पनि फराकिलो भएको छ । अहिले आएर पारिजातका आख्यानमा किन आप्रवासी नेपालीहरुको कथा आएन भनेर आलोचना गर्न मिल्छ र ? यस्ता कुराहरु युगसन्दर्भले जन्माउने हो । त्यसैले कुनै पनि कृति र कृतिकारको मूल्याङ्कन त्यसै समय–सन्दर्भका आधारमा गर्नुपर्छ । अहिलेको आख्यान जाति, धर्म, संस्कृतिको सन्धानमा लागेको छ । यो अहिलेको युगको आवश्यकता पनि हो । यस्तै आवश्यकता कोइराला र पारिजातको समयमा फरक थियो ।
पुस्तकको औपचारिक विमोचनअघि नै पुस्तक बजारमा उपलब्ध भएको छ। किन यस्तो गरिएको हो? पाठकका कस्ता प्रतिक्रिया पाइरहनु भएको छ?
एक-दुई जना व्यक्तिलाई मात्र पढ्न दिई अन्य अन्जान प्राणीलाई एकोहोरो भाषण सुनाउने परम्परागत पद्धतिभन्दा केही फरक बनाउने हेतुले पुस्तक बजारमा पठाइएको हो। केही प्रतिक्रिया र समीक्षाहरु पनि आएपछि पाठक–भावकसामु उभिएर छलफल गराउने हेतुले यसको औपचारिक लोकापर्ण एवम् परिसंवाद कार्यक्रम केही ढिलो गरी राखिएको हो । करिब एक महिनाअघि नै यो बजारमा गइसकेको छ र केही प्रतिक्रियाहरु पनि आइसकेका छन् ।
कुनै पनि कुरा आफैमा पूर्ण हुँदैन, यो निरन्तर चलिरहने प्रक्रियो हो । त्यसैले त ‘‘चरैवेति’’को सिर्जना भएको हो छ ।
पुस्तकको गर्भकथा छोटकरीमा बताइदिनुस् न!
यो मेरो मनमा लामो समयदेखि मनमा उब्जिएका केही प्रश्नहरुको सन्धानका क्रममा तयार भएको कृति हो । यसको बीजाधान केही मेरा वैयक्तिक एवम् पारिवारिक सन्दर्भ र केही वर्तमान सामाजिक–सांस्कृतिक सन्दर्भगत प्रश्नहरुबाट भएको हो । के धर्म परिवर्तन गर्दैमा उसको रगतमा बगिरहेको पुर्खाको संस्कार–संस्कृति सजिलै हराउँछ होला र ? आज जातीय पहिचानका नाममा खास जाति र धर्मको विरोध गरिरहँदा अन्य आयातित धर्मविरुद्धचाहिँ साहित्य किन अदेखा गरिरहन्छ ? आफ्नो पुर्खाको धर्म र संस्कृति छाडेर अर्को धर्मको सहारामा जाँदा के त्यसमा चाहिँ पूर्णता छ त ? के हजारौँ वर्षअघि निर्माण भएको ज्ञानले वर्तमान जीवनका समस्या समाधान गर्न सक्छ
साहित्यकार कस्ता कुरामा सचेत हुनु पर्ने रहेछ?
अहिलेका लागि आम पाठकलाई मैले भन्ने मुख्य कुरा उपन्यासमार्फत नै भनिसकेको छु । साहित्य कोरा कल्पना र भावनाको खेल मात्र होइन यो समयको विशिष्ट दस्ताबेज हो । अहिलेको साहित्यका आधारमा भोलि इतिहासको मूल्याङ्कन हुन सक्छ । तसर्थ यथार्थताप्रति लेखक र पाठक दुवै इमान्दार हुनुपर्छ । आफ्नो पहिचान जोगाउने हो भने आफ्नो भाषा, धर्म, संस्कृतिप्रति पनि सचेत हुनुपर्छ, आफ्नामा खराबी छ भने त्यसैमा सुधार गर्ने प्रयास गर्नुपर्छ छाडेर अन्त शरण पर्दा झन् समस्यामा पर्न सकिन्छ । पुर्खाको इतिहासमा परिमार्जन गर्ने अधिकार छ, त्यसलाई नष्ट गर्ने अधिकार कसैलाई छैन । साहित्य लेखन पनि यस्ता कुराप्रति सचेत हुनुपर्छ ।