काठमाडौँ । पछिल्लो समय सरकारी जागिरे हुनु गुल्मीवासीको परम्परा जस्तै हो । जसरी अन्य समुदायमा परम्परा एक पुस्ताबाट अर्को पुस्तामा सर्छ त्यसैगरी लोकसेवामा नाम निकाल्नु, सरकारी ओहोदामा बस्नु गुल्मीवासीको एक पुस्ताबाट अर्को पुस्तामा सरिरहन्छ।

त्यसैले त नेपालका विभिन्न सरकारी निकायमा थुप्रै कीर्तिमान गुल्मिवासीका नाममा छन्। लोकसेवामा नाम निकाल्नुसँगै अब सिए  पास हुनु पनि गुल्मिवासीको लागि नौलो होइन  ।

पढाइ सकिएपछि राम्रो र सुरक्षित जागिर पाइयोस् भन्ने धेरैको अपेक्षा हुन्छ। तर, उच्च शिक्षा अध्ययनपछि धेरै युवा बेरोजगार हुनुपर्दा निराश हुन्छन्। त्यसैले हाल करियर लक्षित विषयमा विद्यार्थी आकर्षित भएका छन्। नेपालमा चार्टर्ड एकाउन्टेन्ट (सिए ) यस्तै एउटा करियर लक्षित विषय बनेको छ, जहाँ विद्यार्थीको आकर्षण बढ्दो छ।

सिए  बनेपछि राम्रो आम्दानी हुन्छ भन्ने सुनेकी थिईन्, बारबरा भट्टराईले । साइन्स लिएर प्लस टु गरेपछि उनले आईसीआईमा भर्ना भइन । सानैमा घर छोडेर दाजुभाइसँग बसेर पढेकी बारबराले अहिले सिए पास गरेकी छन् ।  अर्थलगानीको नियमित स्तम्भ ‘सम्भव छ’ मा आज हामीले उनै भट्टराईसँग कुराकानी गरेका छौँ ।

नामः बारबरा भट्टराई

पद : सिए

० ० ०

सिर्सेनी । गुल्मीको एउटा सामान्य गाउँको स्कुलमा कखरा सिक्नै ४५ मिनेटको बाटो । पाटाहरूको बिचमा स्कुल हिड्ने बाटा । बाटाको तलतिर वेशी, छेउछाउमा खोलाको कलकल आवाज बिचमा लहलह खेत। खेतमा समयाअनुकुल कहिले बाँझो, कहिले हरियो, कहिले पहेलो । मान्छेको जीवनचक्र याद गराउने धानको जीवनचक्र । माथितर्फ, जंगल । युट्युबमा लगाइएका कयौं सुमधुर गीत भन्दा मिठो संगीत घरमै सुनिन्छ । सोहि गाउँमा सुनिने  संगीतको अर्को नाम हो बारबरा  भट्टराई ।

सानो परिवार । बुवा जागिरे । दुई दाजु । भोक लाग्दा आमा, प्यास लाग्दा बुवा, दुई पाइला हिँड्दा २ दाजुभाई । पहाडको त्यो उकालो,ओरालो, समथर र भिरकाल्ना छिचोल्दै सुरु भयो बारबराको स्कुलिङ ।

घन्टौं हिडेर जानुपर्ने स्कुल । साँझ घर फर्किदा झमक्क साँझ । डुबिसकेको घामले नपत्याएको अक्षरलाई टुकी बत्तीले अलि नजिकबाट चिनाउँथ्यो । र सुरु गर्थिन् पढ्न क … ख … ग … ।

गाउँमा सामान्य लेखपढ मात्र सिकेर उनि बाँकी पढ्न निस्किन् तमघास । पढाइलाई पछ्याउँदै गाउँ, तमघास हुदै काठमाडौँ पुगिन् । आफ्नो बिगत सम्झिँदै बारबरा भन्छिन्, ‘दुईवर्ष पुग्दा नपुग्दै माओवादी आन्दोलनले निजी स्कुल बन्द गर्ने सरकारलाई प्रोत्साहन गर्ने भन्ने हल्ला आयो। त्यो डरले हामी गुल्मीको सदरमुकाम तम्घासमा सिफ्ट भयौँ।’ सानैदेखि आफु दाइहरूसँग बस्दै आएको सम्झिँदै बारबरा भन्छिन्, ‘ठुलो दाई  ८ मा, कान्छो दाई ५ र मैले ३ मा पढ्नको लागि तम्घासमा आयौँ। मेरो सबै जिम्मेवारी दाइहरुले नै लिनुभयो ।’

पछि उच्च शिक्षाको लागि उनि दाई सँगसँगै काठमाडौँ आइन् । १६ / १७ बर्षको उमेरमै प्लस टु पास गरेकी बारबरालाई जेठो दाई (सिए) र कान्छो दाई (इन्जिनियर)का कारण करिअरको लागि समस्या परेन ।

‘जेठो दाई सिए पढिरहेको र सानो दाई इन्जिनियरिङ पढिरहनु भएको थियो। अब मलाई डाक्टर पढाउने रहर थियो। तर, म इन्जिनियरिङ गर्नको लागि इन्डियन एम्बेसीमा आबद्ध भएर तयारी गर्दै थिए। पेण्डिङमा नाम  आयो। अर्थलगानीसँग कुरा गर्दै बारबरा भन्छिन्, ‘यो समयमा ठुलो दाईले आफुले सिए पढेको कारण मलाई टाठी भएको भन्दै  सिएको बुक ल्याइदिनु भयो। यहाँबाट मेरो सिएको यात्रा सुरु भयो।’

उनले सिए पढ्दै गर्दा साथीभाइले गाह्रो बिषय किन पढेको भनेर केरकार नगरेको पनि होइन  । तरपनि दाइले पढेको देखेर सिए  पढ्न थालेको उनि सुनाउँछिन्  । ‘दाइबाट सिक्दै सिए पढ्दै गए, संयोगबस सिए सँग नै बिहे भयो ।  मलाइ पढ्न अझ सहज भयो  । ‘

घरमा उनको भाउजु पनि सिए नै छिन् । उनको परिवारबाट दाई, भाउजु र उनको श्रीमान् सहित ४ जना सिए  छन् । सबै जना व्यस्त भएका कारण घरमा भेटघाटको लागि बिशेष दिनको पर्खाई हुन्छ  । ‘घरमा चाडपर्वमा सबै भेला हुँदा दुई तिरको माहोल बन्छ, पहिलो पढाईको माहोल दोस्रो राजनीतिको माहोल। बुवाको बुटवलमा सानो विजनेश भएको कारण केही विजनेसको पनि माहोल हुन्छ ।’ घरको माहोल सम्झिँदै बारबरा भन्छिन्, ‘हामी(दाजु-बहिनी) सानैदेखि बुवा ममीबाट टाढा बस्यौं । ५–७ वर्षमै घर छोड्यौँ । वर्षमा एकपटक मात्र घर जान्थ्यौं ।’

दाईहरुको रेखदेखमै हुर्केको कारण आफुलाई पारिवारिक जिम्मेवारी नभएको उनि सम्झिन्छिन् । उनको दैनिकी कलेज जाने,आउने खाना पकाउने, खाने र पढ्ने नै हुन्थ्यो ।

‘मलाई घरमा आईसकेपछि ग्रुप डिस्कसन तथा बुकहरू लगायतका कुराहरुमा केही समस्या भएन किनकि म भन्दा अगाडी नै परिवारमा तीनजनाले सिए पढिसकेका थिए । धेरैजसो श्रीमानले नै पढाउनु भयो । दाई भाउजूले पनि सिकाउनु भयो।’

घरमा सबै सिए  भएका कारण आफुलाई पढ्दा समस्या नभएको उनि बताउँछिन् ।   ‘सिए पढ्न एभरेज स्टुडेन्टको प्वाइन्ट अफ भ्यूबाट त्यत्ति सजिलो भने छैन। मेरो जीवनमा सिए देखि श्रीमान्सम्मको यात्रामा मुख्य भुमिकाको रुपमा दाई नै हुनुहुन्छ। बाहिर सबैले मान्दै आएको जस्तो गाह्रो पनि होइन तर गाह्रो नै हो ।’

उनि हाल आफ्नै दाइको फर्ममा काम गरिरहेकी छन् । नेपालबाट सिएहरु बाहिर पलाएन भइरहँदा उनि नेपालमै केहि गर्ने सोचमा छिन् । उनी नेपालमा सिएको मार्केटमा डिमाण्ड नभएको बताउँछिन् ।

सिए हुन श्रीमानको साथ दाइको हात

यो कुरा असामान्य होइन सायद । एकै घरको ४ जना सिए  बन्नु पनि चानचुने बिषय भने होइन । उनि गाउँमा २० – २२ बर्षको उमेर काट्न साथ बर खोज्न तिर लाग्ने कुरा अर्थलगानीलाई सुनाउदै परिवारको साथ र सहयोगले पढाइलाई बाधा नहुने किसिमले घरमा आफ्नो बिबाहको कुरा चलेको सम्झिन्छिन् । ‘जेठो दाइसँगै सिए  पढ्नु भएको उहाँको साथीले घरमा बिबाहको प्रस्ताव राख्नुभयो  । यद्यपी दाईहरु अझै बहिनी सानी नै छ भन्ने पक्षमा हुनुहुन्थ्यो तर अन्ततः कन्भिन्स भइसकेपछि उँहासँगै बिहे भयो ।’ बिबाह भएको ४ बर्ष पुगेको सुनाउँदै बारबरा भन्छिन् , ‘बिबाह गरेर पनि राम्रो सहयोग भयो, म सिए  बन्नलाई श्रीमानको साथ र मेरो दाइहरुको बिशेष हात छ ।’

सानै उमेरमा घरपरिवारबाट टाढा बसेकी बारबराले सानै उमेरमा खाना पकाउने काम सिकिन् । सानैदेखि सबै कुरा सिक्नुपर्छ भन्ने दाइहरुको मान्यताका कारण उनले भान्सा देखि कबिता लेखन, आर्टको काम सिक्ने मौका पाइन् ।

उनि नेपालमा जम्मा १–२ प्रतिशत मात्रै सिए हुने गरेको अवस्थाको दुखेसो पोख्दै पढ्दै गरेका युवायुवतीलाई निरन्तरता दिन सुझाउछिन् । ‘पढ्नेहरूलाई म सकेसम्म निरन्तरता दिनुपर्छ भन्छु , बिचमा ब्रेक गर्नु भएन। बाह्य रमाईलोलाई केही वर्ष टाढै राखेर पढाइलाई नै सबैभन्दा बढी महत्व दिनुपर्छ नसकिने भन्ने हुँदैन ।’

उनले आफ्नो दाइको साथीहरुको उदाहरण दिदै क्याप वान वा टू मा र पढ्दा पढ्दै नभएपछि फाइनलमा पनि बाहिरिएको उदाहरण सुनाइन्  । तर, निरन्तरता र कडा परिश्रम गर्ने हो भने ढिलो चाँडो पास भइने उनको बिश्वास छ ।

‘विदेशका अर्थ बजारमा सिएहरूको बढ्दो मागका कारण नेपालमा पनि सिए शिक्षा अध्ययन गर्नेक्रम बढ्दै गएको छ।’ उनि भन्छिन् , ‘सिए पेसागत शिक्षा हो। लगभग साढे चार वर्षे कोर्सको सिए अध्ययन अवधिमै विद्यार्थीले आर्थिक आय आर्जन गर्नसक्ने भएकाले पनि यसप्रति आकर्षण बढ्दैछ ।’

उसो त कक्षा १२ को परीक्षा सकिनासाथ जुनसुकै संकायका विद्यार्थीले पनि सिए अध्ययन गर्न पाउने भएकाले भर्ना सहज छ । परिश्रम र लगनसाथ अध्ययन गर्ने विद्यार्थीलाई साढे चार वर्षको सिए कोर्सले सीपयुक्त दक्ष जनशक्ति स्थापित गर्न सक्छ ।

सिए पास गरेपछि काम पाइहाल्ने भएकाले पनि यसप्रतिको आकर्षण बढेको बारबरा  बताउँछिन् । ‘सबै संकायका विद्यार्थीले सिए अध्ययन गर्न पाउने भए पनि विशेष गरी व्यवस्थापन र विज्ञान संकायबाट आएका विद्यार्थीको परफरमेन्स राम्रो पाइएको छ,’ बारबरा भन्छिन्, ‘सिए अध्ययन गरेको जनशक्ति आर्थिक सरोकार राख्ने जुनसुकै कार्यालयमा पनि फिट हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय