दुई दिनदेखि प्रहरी नियन्त्रणमा रियालिटी शो ‘कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी रिहा भएका छन् । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गरेपछि भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। घाइतेको सबै उपचार खर्च ब्यहोर्ने शर्तमा उनलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए ।
‘शनिबार दिनभर घाइतेका परिवारसँग राखेर छलफल गरेर उपचार खर्च बेहोर्ने गरी कागज भएपछि हाजिर जमानीमा छाडेको विष्टले जानकारी दिए।
दुर्घटनामा कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेका छन् । बिहीबार निर्देशक भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।