नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्।

पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अघिल्लो जेठमा प्रधानमन्त्रीका रूपमा भएको आफ्नो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न भारत सरकार सहमत भएको बताए।

नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरेको छ। विद्युत् व्यापारको इतिहासमा नेपालको बिजुली भारतपछि अर्को देश पुग्न लागेको हो। भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले विद्युत् निर्यात गरेको हो।

विद्युत् व्यापार गर्ने विषयमा गत २७ असोजमा नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म विद्युत् बंगलादेश निर्यात गरिनेछ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ। सो बिजुली भारतीय नोडल एजेन्सी एनभीभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बंगलादेश पुर्‍याउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय