स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कुनै अस्पतालले स्वास्थ्य बिमाका सुविधा रोके नवीकरण नगर्ने चेतावनी दिएका छन्।
सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मींसँग कुरा गर्दै मन्त्री पौडेलले सरकारले बिमाको रकम छिटो फरफारक गर्ने भन्दै कुनै अस्पतालले बिमा कार्यक्रम रोके पुनः नवीकरण नहुने स्पष्ट पारे।
आइतबार मात्रै बिमा वापतको झण्डै चार अर्ब रकम अस्पालमा पठाइएको उनले बताए। बाँकी अस्पतालको पनि रकम पठाउने तयारी गरिएको जानकारी उनले दिए।
नेपालको सबे स्वास्थ्य सेवा बिमालाई एकीकृत ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ। मन्त्री पौडेलले बीमा प्रणालीलाई थप व्यवस्थित गर्दै अघि बढाउने जिकिर गरे।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक संकट परेको भन्दै स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको सूचना प्रकाशित गरेको थियो।
राष्ट्रिय बीमा बोर्डबाट रकम नपाउँदा आर्थिक संकट परेको भन्दै प्रतिष्ठानले आगामी जेठ १ गतेदेखि लागू हुने गरी बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा स्थगित गरेको हो।
प्रतिष्ठानले जारी गरेको सूचनामा लेखिएको छ, ‘बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रियामात्र सुचारु रहने, इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुने।’
यसैगरी तीन महिनाको निमित्त उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुने पनि प्रतिष्ठानको सूचनामा उल्लेख छ।
प्रतिक्रिया